
त्यति मात्र नभएर जब एरीक भ्यालीले डोल्पाका स्थानीय ब्यक्तिलाई लिएर डोल्पाली समुदायको दैनिक जीवनमा आधारित रहेर क्याराभान फिल्म बनाए त्यसपछि डोल्पाले स्वदेशमात्र नभएर विदेशमा समेत ख्याती कमायो । जति ख्याती कमायो त्यति पर्यटकको आगमनमा वृद्दि हुन नसकेता पनि सो फिल्लमले भने डोल्पालाई विश्वमाझ चिनाउने काम चाही गर्यो ।
नेपालको उत्तर पश्चिम भेगको डोल्पा जिल्लाको उपल्लो डोल्पाको शे गुम्बामा भदौ दोस्रो हप्ता पर्यटक तथा तिर्थालुको बाक्लै उपस्थिति थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकार तथा अढाई सय भन्दा बढी विदेशी, करिब सय जना आन्तरिक पदयात्री र हजारौँ डोल्पालीको जमघटमा थियो मेलामा । भदौ १३ देखि १८ गतेसम्मको मेलामा पूजा मात्र नभएर पशु दान समेत गरिएको देख्दा निकै अच्चम मानेर हेर्नको घुईचो समेत निकै रोमान्चकारी थियो ।
प्रख्यात शेचेन राव्जेम रिम्पोचेले मेलमा ४० भन्दा वढी याकलाई मेला सुरुवात भएदेखि स्वतन्त्र भएको घोषणा गरे । जुन घोषण गरेपछि तिनलाई काटमार गर्न मिल्दैन । मेलामा तीर हान्ने प्रतियोगीता र घोडा दौडका साथै लामाबाट वाङ (आशिवार्द) लिनु नै मेलाको प्रमुख आकर्षण हो । धार्मिक हिसाबले मेला निकै महत्वपूर्ण मानिन्छ । ड्रागन बर्षमा हरेक १२ बर्षमा शे मेला लाग्छ । बौद्ध धार्मिक मान्यता अनुसार ड्रागन वर्षमा क्रिस्टल माउन्टेन परिक्रमा गर्दा अन्य ११ वटा महत्वपूर्ण धार्मिकस्थल दर्शन गरे बराबर पुन्य मिल्छ । पाप नास हुन्छ ।
शे मेलाको इतिहास लामो छ । किंवदन्ती अनुसार हजार वर्ष अघि गुरुको आज्ञाले टुपटुपशिंल्से रिप्पोचे तिब्बत छोडेर शे आइपुगे । उनले भिजेर गाउँको सैकापकाङ डांडाबाट शे देखे । रिवुडुक्ता हिमाल (क्रिस्टल माउन्टेन) तर्फ उड्ने क्रममा उनले जताततै राक्षस देखे । गाउँलेलाई दुःख दिने ती राक्षस उनले नास गरे । एक दिन रिवुडुक्ता हिमाल परिक्रमा गर्नें क्रममा तिर्खा लागेपछि चिया पकाउँदा सवै ढुँगामा ओम अंकित देखेपछि उनलाई यो ठाउँ पवित्रथलो लाग्यो । उनले रिवुडुक्ताको सात पटक परिक्रमा गरे । उनले त्यो हिमालको टुप्पोबाट कैलाश पर्वत देखे । त्यहि बेलादेखि रिवुडुक्तालाई कैलाश पर्वतको भाई मानि पुज्न थालियो । टुपटुपशिंल्से रिप्पोचे शे मा बस्न थाले । उनले गुम्बा बनाए । तिब्बती क्यालेन्डर अनुसार हरेक वर्षलाई जीवजन्तुका नाममा नामांकन गरिएको हुन्छ । त्यहि बमोजिम भिन्न भिन्न ठाउँमा मेला आयोजना गरिन्छ । त्यहि क्रममा हरेक १२ बर्षमा शे मा मेला लाग्छ ।
शे को उचाई ४ हजार ४ सय मीटर र फोक्सुण्डोबाट जाँदा कांङलापास (५३ सय मिटर) पार गर्नु पर्छ । एसएनभी नेपालको सहयोगमा विगत २ वर्षदेखि डोल्पामा ग्रेट हिमालय ट्रेल विकास कार्यक्रम लागु भएको छ । यसले पर्यटकलाई सुबिधा पुर्याउन स्थानीयलाई तालिम, पूर्वाधार विकासमा सघाउँदै आएको छ । फोक्सुण्डो तालसम्म टि हाउस टे्रकिङ सुबिधा छ । त्यहाँ भन्दा माथि क्याम्पिङ गर्नु पर्छ । काठमाडौँबाट नेपालगंज या सुर्खेतसम्म हवाई/बस यात्रा । त्यहाँबाट डोल्पाको जुफालसम्म हवाईयात्रा । त्यहाँबाट पदयात्रा । दुई दिनमा शे फोक्सुण्डो ताल, चार दिनमा शे गुम्बा पुगिन्छ । एक्सप्लोर डोल्पो ट्रेक्स प्रा.ली.ले काठमायडौं वाट त्यता सम्म जान र आउन विभिन्न प्याकेजहरु तयार गरेको छ ।