Radio Thaha Sanchar 99.6 FM

Live Stream Powered by SoftNEP
 

लोकप्रिय

Saturday, September 15, 2012

नेपाली भाषाका हजार वर्ष- कालजयी कृति

0 comments

मदन पुरस्कारको दावेदार कृति

केही वर्षयता हरेक हप्ता सरदर तीन वटा नयाँ कृति बजारमा आउँछन् । तीमध्ये जतिले चर्चाको बजार पाउँछन्, ती सबै पठनीय र संग्रहणीय हुँदैनन् । अनि स्तरीय र कालजयीखालका कतिपय कृतिले चर्चाको ‘च’समेत देख्न पाउँदैनन् । प्रसिद्ध पुरातात्वविद् मोहनप्रसाद खनालको कृति ‘नेपाली भाषाका हजार वर्ष’ दोस्रो कोटिको कृति हो ।प्रकाण्ड विद्धान एवम् भाषाशास्त्री वालकृष्ण पोखरलेको शब्द सपाटी लिएर भन्नुपर्दा खनाल भनेका ‘नेपाली भाषाको प्रचीनता पत्ता लगाउने कार्यमा बाबुराम आचार्य, नयराज पन्त, योगी नरहरिनाथ आदिले खनेको मार्गमा हिँड्ने यात्री मात्र होइन त्यस मार्गलाई राजमार्गमा परिणत गर्न सकिन्छ कि भनी बुद्धि र बलले लागिपर्ने एक अथक साधक हुन् ।’ खनालका यसअघि ‘सेन राज्यको राजनीतिक इतिहास’, चाँगुनारायणका ऐतिहासिक सामग्री’, ‘मध्यकालीन अभिलेख नेपाल भोट युद्धको तयारी’ जस्ता दर्जन बढी ऐतिहासिक कृति प्रकाशित भइसकेका छन् ।
नेपाली भाषाको इतिहास खोज्ने क्रममा यसअघि बालकृष्ण पोखरेलको २०२० सालमा ‘पाँचसय वर्ष’ कृति प्रकाशित भएको थियो । त्यसमा योगी नरहरि नाथले पत्ता लगाएको १३९४ विक्रमाब्दको पुण्यमल्लको ताम्रपत्रलाई सर्वप्राचीन भनी प्रस्तुत गरिएको थियो । तर खनालले २०३० मा त्यसअघिका ताम्रपत्र प्रकाशित गरी पोखरेललाई समेत चुनौती दिएका थिए ।
अहिले त खनालले शाके सम्बत् १०१६ को ‘वामुखँड्काको स्तम्भलेख’ पत्ता लगाएर सप्रमाण प्रस्तुत गरी नेपाली भाषाको इतिहास हजार वर्षभन्दा पुरानो रहेको तथ्य अघि सारेका छन् । दैलेखको दुल्लुस्थित भुसागाउँको कोट नजिकै खिराखेतमा रहेको यो अभिलेखले तात्कालीन समाजका सामाजिक इतिहास, कला र भाषाका अनेकौं गाँठाहरुलाई फुकाउने काम गरेको खनालको दावी छ । साथै उनले त्यो बेला तिब्बतको गुँगे प्रान्तदेखि कुमाउँ भएर पश्चिम नेपालका भूभागमा खसराजा नागराजको प्रशासन रहेको पनि बताएका छन् ।
ऐतिहासिक ताम्रपत्र तथा शिलालेख खोज्ने क्रममा आफ्नो जीवन नै अर्पण गरेका खनालले कयौंपटक त आफ्नो जीवननै दाउमा समेत लगाएका छन् । जस्तो एउटा ताम्रपत्र खोज्ने सिलसिलामा तिब्बती शेर्पाको भेष धारण गरेर उनीहरुसँगै तिब्बत भित्र प्रवेश गरी कयौं दिनसम्म गुफामा भोकभोकै समेत लुकेका छन् । अनि त्यहाँको ऐतिहासिक गुम्बाभित्र रहेका ताम्रपत्रहरु पनि खोजेर ल्याएका छन् । ती कुरा थाहा पाउँदा खनाललाई ‘भिल्लको देशका मणि’ को उपमा दिन मन लाग्छ ।
अध्येता खनालले ताम्रपत्र तथा शिलालेख खोज्ने क्रममा कुमाउँ, बझाङ, दैलेख, जुम्ला, गोरखा, नुवाकोट, भक्तपुर लगायतका अनेकौं ठाउँ चाहरेका छन् । गुमनाम बाँचिरहेका नेपालीहरुका पोकामा थन्किएका तथा अलपत्र अवस्थामा लडिरहेका सय बढी ऐतिहासिक वस्तुहरुलाई खोजीमेली गरेका छन् । जसमा राजाज्ञा वा राजकीय आदेश, वंशावली वा प्रशस्ती, दानदातब्य वा अग्रहार र भाइभारदार एवम् जनासाधारणबाट स्थापित शिलालेख परेका छन् । ती पाइएका स्थान, स्वामित्व धनी तथा तिनका लेखकको नामसहितको जानकारी समावेश गरिएको यो कृति निकै रोचक छ । उपत्यकाका मल्ल राजाका पालाका कतिपय अभिलेखका लेखक नेवारहरु हुनुले पनि खसभाषा नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले लादेका हुन् भन्ने तर्कको धज्जी उडाइदिएको छ ।
शाके १२३८ को आदित्यमल्लको ताम्रपत्र प्रस्तुत गर्ने क्रममा खनालले नेपालीहरुको मन कटक्क हुने एउटा प्रमाण अघि सारेका छन् । उनका अनुसार गोरखाको लार्के हिमालको फेदीसँगै अठारसय खोला अन्तर्गत रिगाउँको सिरानमा ताजगाइँ नामको प्रसिद्ध गुम्बा रहेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरुको राम्रो संग्रह रहेको उक्त गुम्बा रहेको क्षेत्र १०१५ सालको नेपाल-चीन सीमा सम्झौतापछि चिनिया क्षेत्रमा गाभिन पुग्यो । त्यससँगै हाम्रा पुरातात्विक ऐतिहासिक वस्तुहरु पनि चिनिया कब्जामा पुगे । स्थानीय लामाहरुको हवाला दिँदै खनालले भनेका छन्, ‘१५ सालअघिसम्म ताजगाइँ गुम्बाभन्दा झन्नै पाँच कोश उत्तरका क्षेत्रसमेत नेपाल भित्र पर्दथे ।’
आदिकालका शीलालेख एवम् ताम्रपत्रमा उल्लेख भएका लिपिको उल्था मात्र नगरी खनालले त्यसबारेको टिप्पणी समेत समावेश गरेका छन् । यो कृतिले नेपाली भाषाको प्राचीनताको मात्र वकालत नगरेर त्यसबेलाको इतिहास, कला, संस्कृति र जनजीवनका बारेमा पनि अथाह जानकारी अघि सारेको छ । तात्कालीन समाजका बारेमा अध्ययन गर्न चाहने समाजशास्त्रीहरुलाई समेत बाटो फराकिलो बनाइदिएको छ ।
यो कृतिबाट त्यसबेलाको इतिहास, संस्कृति र सामाजिक जनजीवनका बारेमा सामान्य पाठकले समेत थुप्रै कुरा थाहा पाउन सक्छ । भाषाशास्त्री एवम् स्रष्टा डा. तारानाथ शर्माले पुस्तकको भूमिकामा ‘नेपाली भाषाको प्राचीनता स्थापित गर्ने अद्वितीय का’ भनेका छन् । अनि बालकृष्ण पोखरेलले लेखेका छन्, ‘यसअघि यति महत्वूर्ण शोध कृति कहिल्यै देख्न पाइएको थिएन ।’
सारमा भन्नुपर्दा पुरातात्विक अनुसन्धान र सत्य इतिहासको खोजमा आजीवन समर्पित खनालले यो कृति पस्केर राज्यले समेत गर्न नसकेको काम गरेर देखाएका छन् । भाषा साहित्य, समाजशास्त्र र इतिहासका बारेमा चासो राख्ने हरेकले पढ्नै पर्ने ३१६ पृष्ठको यो कृतिको मूल्य ४०५ रुपैयाँ छ । यसवर्षको मदन पुरस्कारको प्रवल दावेदार मानिएको यो कृति राइनो प्रकाशनले बजारमा ल्याएको हो ।

Leave a Reply

Advertise

 
शान्ति आव्हान राष्ट्रिय दैनिक पत्रिका National Dialy News Paper © 2011 DheTemplate.com & Main Blogger. Supported by Makeityourring Diamond Engagement Rings

You can add link or short description here